साउदीमा मर्यो भनेर परिवारले काजक्रिया गरिसकेका सुवासले आफु जिउँदै रहेको भन्दै घरमा फोन गरे !
सुनसरी, भदौ २० – विदेशमा रहेको आफ्नो मान्छेको ज्यान गयो भनेर घरमा शव नै आएपछि परिवारमा के होला । जसोतसो चित्त बुझाउँदै काजक्रिया गर्नुबाहेक अर्को उपाय पनि हुन्न ।
तर काजक्रिया समेत भैसकेको मान्छे जिउँदै छ भन्ने सुन्दा र उसले उतैबाट फोन समेत गर्दा झन कस्तो होला । मोरङ्गको डाँगीहाट लक्ष्मीमार्गको एक परिवार अहिले यस्तै रुन्चेहाँसो र छटपटीमा परेको छ ।
साउदीमा गाडी दुर्घटनामा घाइते भएका सुवास तामाङको उपचारका क्रममा निधन भएको भन्दै रिपोर्ट सहित लास पठाएपछि परिवारले सबै खुसी लुटिएको महसुस गरे । अस्पतालको रिपोर्ट अनुसार त्यहाँको सरकारले दूतावासको समन्वयमा डाँगीहाटमा लास पठाएपछि तामाङ परिवारले दुई महिनाअघि अन्त्येष्टि समेत गरेको थियो । काजक्रिया सकेको दुई महिनापछि सुवासले आफू जिउँदै भएको भन्दै घरमा फोन गर्नुभयो । त्यसपछि परिवारमा आश्चर्यसँगै खुसी छायो । तर त्यो खुशी बाँड्न परिवार अझै असफल छ ।
सुवास अहिले जिउँदै भएपनि नेपाल फर्कन भने सक्नुभएको छैन । नेपाली दूतावासले पहल नगरिदिंदा सुवास अहिले साउदी अरबको जेहाद शहरमा अलपत्र परेको सुवासकी श्रीमती सन्तोषी तामाङले बताउनु भयो । नेपाल फर्कउनका लागि साउदी सरकारले कम्पनीमा चिठ्ठी लेख्नुपर्ने भएपनि चिठ्ठी नपठाउँदा उहाँ कार्यरत कम्पनीले नेपाल पठाउन सकेको छैन । पटक पटक साउदीमा रहेको दूतावासमा सम्पर्क गर्दा पनि चासो नदेखाएको सन्तोषीले बताउनु भयो ।
सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुवासले होश गुमाउनु भएको छ । साउदीमा रहेका सुवासले कसैलाई चिन्न नसक्ने सन्तोषीले बताउनु भयो । सुवास असार १९ गते सवारी दुर्घटनामा परि साउदीमा घाइते हुनु भएको थियो । दुर्घटनामा चारजनाको घटनास्थलमै ज्यान गएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये कपिलवस्तुका ट्याक्सी चालकको भने उपचारका क्रममा ज्यान गएको थियो । मृत्यु भएका कपिलवस्तुका ती सवारी चालकलाई सुवास भनेर अस्पतालले मृत्युको सर्टिफिकेट बनाइदिएको थियो । साउदीको जेहाद स्थित किङ्ग अब्दुल अजिज हस्पिटलले सुवासको मृत्यु भएको जानकारी दिएको थियो ।
घरमा रुवाबासी
वैदेशिक रोजगारीका सिलसिलामा साउदीको जेहाद शहरमा पुगेका सन्तोषीका श्रीमान सुवाषको असार १९ गते भएको सवारी दुर्घटनामा ज्यान गएको खबर आयो । छुट्टिमा घर आएर श्रीमान विदेश गएको एक वर्ष नबित्दै दुखद खवर सुनेपछि उहाँ भावविव्हल बन्नु भयो ।
छिनमा मुर्छा पर्ने र होसमा आउने क्रम चलिरह्यो । दुई सन्तानकी आमा सन्तोषीलाई मन बुझाउन कैयौं दिन लाग्यो । पटक पटक उहाँलाई स्लाइन पानी चढाएर होस ल्याउने काम भयो ।
भोजपुरको कुदाक काउलेमा रहेका उहाँका ससुरा, सासु र जेठाजु सबैजना डाँगीहाट आए । निधन भएको भनिएको झण्डै एक महिना पछि सुवासको शव आयो । शव लिन सन्तोषी आफैं काठमाण्डौ गइन् । सबै प्रक्रिया पूरा गरेर शव ल्याएपछि एक दिन घरमै राखियो । भोलिपल्ट बौद्ध परम्परा अनुसार मोरङको लक्ष्मीमार्गमा अन्त्येष्टि गरियो ।
अन्त्येष्टि गरेको एक महिनापछि सुवाससँगै एउटै कम्पनीमा काम गर्ने उहाँका भान्जाले घरमा फोन गरे । मामाको ज्यान गएको रहेनछ भनेर । उहाँले परिवारलाई सुवाससँग कुराकानी पनि गराउनुभयो ।
तर सुवासले श्रीमती राम्रोसँग चिन्नु भएन । ठेगानको कुरा पनि गर्नुभएन । त्यसको केही दिनपछि भिडियो कल भएपछि श्रीमान जिउँदै भएको विश्वास भयो ।
यसरी भो गल्ती
सधैं झैं त्यो दिन सुवास तलब थापेर श्रीमतीलाई पैसा पठाउन हिँड्नुभएको थियो । त्योबेला उहाँ कम्पनीकै गाडीमा चढेर बैंकसम्म जाने गर्नुहुन्थ्यो ।
यसपाली भने उहाँ जुलाई ३ तारिखमा कपिलवस्तुका एक नेपालीको ट्याक्सी चढेर बैंक जानुभएको थियो । उहाँ हुन्डाइ कम्पनीमा काम गर्नुहुन्थ्यो । साउदीमै चिनजान भएका ती नेपालीका साथमा अन्य ५ जना पनि थिए ।
दुर्भाग्य उनीहरु चढेको गाडी दुर्घटनामा पर्यो । दुर्घटनामा अरु चार जनाको घटनास्थलमै ज्यान गयो । घाइते भएका गाडी चालक र सुवासलाई अस्पताल लगियो ।
अस्पतालमा कपिलवस्तुका ती गाडी चालकको निधन भयो । तर अस्पतालले सुवासको निधन भएको सूचना दियो । त्यसपछि त्यहाँ स्थित दूतावासले पनि अस्पतालकै भर परेर नेपालमा खबर गर्यो। हेर्देै नहेरी कागज बनाएर शव पठाएपछि सुवास भनेर डाँगीहाटमा अन्त्येष्टि गरियो ।
घर फर्काउन समस्या
नेपाली दूतावासको लापर्वाहीका कारण जिउँदो मान्छेलाई ज्यान गएको भनेर मानसिक यातना भोगेका सन्तोषी तामाङका परिवारलाई सुवासलाई नेपाल फर्काउन समस्या भएको छ । दूतावासले पहल नगरिदिएका कारण सुवास नेपाल आउन सकेका छैनन् ।
उनलाई एक महिनाअघि नै नेपाल फर्काउन कम्पनीले पहल गरेको भएपनि अझैसम्म उहाँ नेपाल आउन नसकेको परिवारले जनाएको छ । मृत्यु भइसकेको भनेर सबै कागजत बनिसकेकाले सुवासलाई नेपाल फर्काउन कागजी प्रक्रिया मिलाउनुपर्ने हुन्छ ।
यसका लागि साउदी अरब सरकारले नै कागज बनाइदिए मात्रै कम्पनीले घर पठाइदिन सक्छ । तर नेपाल सरकारले सरकारी स्तरबाट पहल नगरिदिएका कारण घर फर्काउन नसकिएको आफन्तले बताएका छन् । ‘आज आउँछु, भोलि आउँछुु भनेकै महिना दिन भइसक्यो’ सन्तोषीले भन्नुभयो, ‘कागज बनिसकेको छैन भन्दै उहाँ घर आउन सक्नु भएको छैन । बिरामी मान्छेले केही गर्न सक्नु हुन्न । यहाँबाट कसरी पहल गर्नुु भन्ने मलाई थाहा छैन ।’ श्रोत : उज्यालो अनलाईन

0 comments
Write Down Your Responses