जसको जिन्दगी डिआइजी नवराज सिलवालले सखाप बनाइ दिए (भिडियो सहित)
नेपाल प्रहरीको हालका महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्याल आगामी फागुन २ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकासमा जाँदै छन् । अर्यालसँगै एउटै ब्याजका भएका कारण सबै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरु पनि अनिवार्य अवकासमा जाने भएपछि प्रहरीको भावी आइजीपी बन्ने सौभाग्य प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुलाई मिलेको छ । र, भावी आइजीपीको दौडमा ४ जना डिआइजी जयबहादुर चन्द, प्रकाश अर्यालय, नवराज सिलवाल र बमबहादुर भण्डारी छन् ।
त्यसमा पनि नेपाल प्रहरीको भावी आइजीपीका लागि आफूलाई सबैभन्दा ‘उत्कृष्ट’ उम्मेद्वार भन्दै डिआइजी नवराज सिलवाल बढी नै प्रचार प्रसारमा लागेका छन् । सिलवालको प्रचारमा लागेका कतिपय मिडियाले त सिलवाल जस्ता व्यक्ति नेपाल प्रहरीमै छैनन् समेत भन्न भ्याएका छन् । तर, सिलवालले प्रहरी पावरको गलत प्रयोग गरेर केही व्यक्तिको जिन्दगी नै बर्बाद गरिदिएको विषय भने लुकाउन खोजिएको छ ।
घटना २०६९ बैशाख २३ गतेको हो । जतिबेला नबराज सिलवाल प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को रुपमा नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत थिए । काठमाडौंको थानकोटमा ‘अर्गानिक कृषि खेती’ गर्दै आएका देवेन्द्र रोका छपालीलाई सिलवालले पक्राउ गर्न लगाए । काठमाडौंको सीतापाइलामै टाँक तथा खेलौना उत्पादन गर्ने मध्यम खाले कारखाना समेत चलाउँदै आएका रोकाविरुद्ध सिलवालले लागु औषध तस्करीको आरोपमा ९३ दिनसम्म थुनामा राखे । र, पीडित रोकाकै शब्दमा ‘झुटा’ विवरण पेश गरी लागु औषध ओसारपोसार मुद्दामा २ वर्षका लागि जेल चलानसमेत गराए ।
जग्गा हडप्ने योजनासहित रोकाविरुद्ध मुद्दा
देवेन्द्र रोकाको काठमाडौंको नागार्जुन नगरपालिका–५ मा करिव डेढ रोपनी क्षेत्रफलको जग्गा र घर छ । रोकाले काठमाडौंको थानकोटमा पनि करिब ३३ रोपनी जग्गा छ । जसमा उनी अर्गानिक खेती पनि गर्दै आएका थिए । त्यही अर्गानिक खेतीबाट रोकाले २ छोरा, २ छोरी आफू र श्रीमती गरी ६ जनाको परिवारलाई राम्रैसँग पुग्ने गरी आम्दानी गर्थे । तर, जब थानकोटको ३३ रोपनीमध्ये ९ रोपनी जग्गामा सिलवालका मान्छे भनिने एक खड्का परिवारको आँखा लाग्यो त्यसपछि रोकाको दुरदिन सुरु भयो ।
घटनामा अर्को पात्र पनि जोडिन्छन्, जम्बा भोटे नामका । आफूलाई जग्गा व्यवसायी, नेकपा एमालेको कार्यकर्ता तथा प्रहरीका उच्च अधिकारीसँग सम्पर्क भएको व्यक्ति बताएर उनले देवेन्द्र रोकासँग परिचय बनाएका थिए । परिचय भएको १ वर्षपछि (२०६९ बैशाखमा) तिनै जम्बाले रोकासँग एउटा जग्गा खरिद गर्ने प्रस्ताव राखे । फोटोमा रुद्राक्षका विरुवा भएको एक ठूलो जंगल देखाएर जम्बाले उक्त ठाउँ खरिद गर्न रोकासँग पैसा माग गरे ।
उक्त जग्गा संखुवासभामा भएको बताइएको रोका सुनाउँछन् । ‘१ करोड भन्दा बढी मूल्य पर्ने जग्गा अहिले खरिद गरे २१ लाखमै पाइने’ भन्दै जम्बाले रोकासँग १६ लाख २३ हजार ८ सय रुपैयाँ लिएर गए । जम्बाले पैसा लिएको दोस्रो दिन २३ बैशाख २०६९ रोकालाई प्रहरीले पक्राउ गर्यो, लागुऔषध कारोबार गरेको अभियोगमा । रोकाबाट १६ लाख रुपैयाँ लिएका जम्बा भोटे आफूलाई नबराज सिलवालको मान्छे बताउने गर्थे । जो पछि बेरोजगार युवाहरुलाई जागिर लगाईदिन्छु भन्दै पैसा ठग्दै हिड्ने गरेको अवस्थामा पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा संखुवासभाका भोटे काठमाडौं बागबजारबाट ०३ जेठ ०७३ मा पक्राउ परेका थिए ।
थुनामा राखेपछि पैसाको बार्गेनिङ
थानकोटबाट पक्राउ गरिएपछि देवेन्द्र रोकालाई लागू औषध नियन्त्रण ब्युरोको बानेश्वरस्थित तत्कालिन कार्यालयमा पुर्याइयो । त्यसको दोस्रो दिन उनलाई ब्युरोका एसएसपी नवराज सिलवालले सोधपुछ सुरु गरे । ‘तँ लागुऔषध कारोबारी हैनस् भन्ने तँलाइ मात्रै थाहा छ । तर, हामीले चाहेमा तँलाई जेल पठाइदिन सक्छौं । त्यसैले ३ करोड रुपैयाँ दे केस क्लोज गरिदिन्छु,’ हातमा बाँधिएको हत्कडी खोल्न लगाएर त्यतिबेला नवराज सिलवाले रोकालाई भनेका शब्द हुन् यी । तर, रोकाले आफूसँग तीन करोड रुपैयाँ नभएको बताए
त्यसपछि सिलवालले नयाँ प्रस्ताव राखे थानकोटको ९ रोपनी जग्गा एक खड्का थरकी केटीका नाममा पास गरिदिने । ती केटी रोकाका छिमेकी खड्का थरका व्यक्तिकी छोरी थिइन्, जोसँग सिलवालको ‘अनैतिक सम्बन्ध’ रहेको रोका दावी गर्छन् । तर, रोकाले ती केटीका नाममा ९ रोपनी जग्गा पास गर्ने प्रस्ताव पनि अस्वीकार गरिदिए ।
त्यसपछि सुरु भयो रोकाविरुद्ध झुटा विवरण संकलन गरी उनलाई जेल चलान गर्ने योजना । पहिलो योजनामा रोकालाई बैंकिङ कसुरमा जेल चलान गर्ने योजना पनि सिलवालले बनाएका थिए । सिलवालले रोकालाई नेपाल बैंक लिमिटेडमा रहेको उनको व्यक्तिगत खाताको ब्ल्याङ्क चेकमा जबरजस्ती हस्ताक्षर गर्न पनि लगाए । तर, त्यो संभव नभएपछि सिलवालले आफैं कार्यरत विभाग (लागु औषध नियन्त्रण ब्युरो)का प्रहरी परिचालन गरेर लागुऔषध कारोबार प्रमाणित गर्न गलत प्रमाण संकलन गर्न लगाए ।
टाँक बनाउने मेसिनलाई चरेस उत्पादन गर्ने उपकरण भनियो
रोकालाई लागु औषध कारोबारी भएको प्रमाणित गर्न सिलवालले टाँक बनाउने मेसिनलाई गाँजाबाट चरेस उत्पादन गर्ने उपकरण भनेर मुचुल्का बनाउन लगाए । रोकालाई जसरी पनि लागु औषध कारोबारी भनेर प्रमाणित गर्न उनको गाडीमा गाँजा, चरेस र खैरो हेरोइनसमेत राख्न लगाएर फोटो खिचाइयो । र, त्यसपछि काठमाडौं जिल्ला अदालतले रोकालाई लागु औषध कारोबारको अभियोगमा २ वर्षको जेल सजाय सुनायो ।
मिडियामा गलत सूचना दिएर चरित्र हत्या गरियो
गर्दै नगरेको अभियोगमा पनि अदालतले तोकेको सजाय काटेर जेलबाट रिहा भइसकेका रोकालाई सिलवालले त्यसपछि पनि छाडेनन् । जेलबाट रिहा भएर पुनः कृषि पेशामा सक्रिय हुन खोज्दा रोकाबारे कान्तिपुर पब्लिकेशनको नेपाल साप्ताहिकमा (३० फागुन २०७२) मा एउटा समाचार प्रकाशित भयो, ‘दोहोर्याई–तेहेर्याई उही कुकर्म’ शीर्षकमा । जसमा रोका लागु औषध कारोबारी भएको, उनले घरमै चरेस उत्पादन गर्ने कारखाना सञ्चालन गरेको र त्यतिबेला पनि उनी जेलमै रहेको भनेर समाचारमा उल्लेख छ ।
त्यतिबेला डिआइजीमा बढुवा भएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रमुख भइसकेका सिलवालले रोकाको केस केलाएको भन्दै समाचारमा बाइट दिएका छन् । समाचारमा सिलवालले ‘ उसले (रोकाले) निकै शक्तिशाली सन्जाल बनाएर आफ्नो धन्दा चलाएको थियो,’ भनेर भनेका छन् । रोकाले उक्त समाचारको विरुद्धमा प्रेस काउन्सिल, मानव अधिकार आयोग, प्रधानमन्त्रीको कार्यालयलगायत धेरै ठाउँमा उजुरी दिइसकेका छन् । तर, कतैबाट पनि न्याय नपाएको उनको भनाइ छ । जेलबाट छुटेर पनि सिलवालले आफूलाई भौतिक रुपमै सिध्याउन पनि प्रयास गरेको रोका बताउँछन् । विभिन्न मिडिया प्रयोग गरी आफ्नो बदनाम गराएको भन्दै रोकाले सिलवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा नै दर्ता गरेका छन् ।
यस्तै नवराज सिलवालले गलत प्रमाण जुटाएका कारण आफूले विनाकसुर लागुऔषध अभियोगमा जेल सजाय भोग्नु परेको भन्दै काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पनि पुनरावेदन दर्ता गरेका छन् । तर, मुद्दाको पेशी सारिने गरिएका कारण आफूले न्याय नपाएको उनी बताउँछन् ।
सिलवाल पीडितको व्यथा उनकै आवाजमा । हेर्नुहोस् भिडियो ! श्रोत: नयाँ बाटो


0 comments
Write Down Your Responses