चार लेनको फराकिलो बाटोमा पनि मुस्किलले १ घण्टा २० मिनेट लगाएर भक्तपुर पुर्याउने भक्तपुरे थोत्रे न थोत्रे बसका संचालकले २० मिनेटमा भक्तपुर पुर्याउने अत्याधुनिक साझा बसलाई छिर्न नदिने !


भक्तपुरः भक्तपुरका बस व्यवसायी तथा मजदुरले साझा बसलाई भक्तपुरमा चल्न नदिने भएका छन् ।भक्तपुरका व्यवसायीकै करिब एक हजार गाडी सञ्चालन हुँदाहुँदै साझाको थप गाडी सञ्चालन गरिए आफूहरु विस्थापित हुने भन्दै उनीहरुले साझालाई भक्तपुर छिर्नै नदिने बताएका हुन् ।

कोटेश्वर पूर्वयातायात समितिका संयोजक बलराम त्वानाबासुको संयोजकत्वमा बिहीबार भक्तपुरका बस व्यवसायी तथा मजदुरको संयुक्त बैठकले साझालाई भक्तपुर छिर्न नदिने निर्णय गरेको हो ।

उनीहरुले स्थानीयको चाहना र माग ठूला गाडी भए आफूहरुले पनि ठूला गाडी चलाउन सक्षम र तयार रहेको निर्णय गरेका छन् ।

‘साझाका जस्तै ठूला गाडी स्थानीयको चाहना र माग भए भक्तपुरकै व्यवसायीहरु यस्ता गाडी चलाउन सक्षम र तयार छन्’, बैठकमा सहभागी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भक्तपुर इन्चार्ज प्रकाश बस्नेतले भने, ‘बैठकले साझालाई भक्तपुर छिर्न नदिने एकमतले निर्णय गरेको छ ।’

उनले साझाले भक्तपुरमा सेवा दिनेवित्तिकै यहाँका करिब एक हजार गाडीका धनी तथा मजदुरहरु प्रभावित हुने बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

भक्तपुरस्थित भक्तपुर मिनिबस सेवा समितिले ७ नम्बर रुटमा तीनसय दस, पुरानो बाटो बस व्यवसायी संघले ९ र १० नम्बर रुटमा चार सयभन्दा बढी र मध्य उपत्यका बस व्यवसायी संघले १ नम्बर रुटमा दुई सयभन्दा बढी सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।

यी चार वटा रुटमा चल्ने गाडीमा करिब तीन हजार सवारी धनी र ६ हजारको हाराहारीमा चालक तथा सहचालक आश्रित रहेको बस व्यवसायीहरु बताउँछन् ।

साझाले भक्तपुरमा आफ्नो पुरानो रुटमा हाललाई दैनिक दसवटा गाडी सञ्चालनमा ल्याउने तयारी गर्दै आएको छ । जसअनुसार काठमाडौंको कलंकीबाट कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, पुतलीसडक, अनामनगर, हनुमानस्थान, बानेश्वर, कोटेश्वर हुँदै जडिबुटी र भक्तपुरतर्फ ६ लेन सडक हुँदै सल्लाघारी, दूधपाटी, व्यासी, देकोचा, कमलविनायक, च्याम्हासिंह, जगाती, सूर्यविनायक हुँदै ६ लेन सडकबाटै काठमाडौं फर्कने छ ।

हाल भक्तपुरमा चल्ने सबै समितिका गाडीहरु साझाले प्रस्ताव गरेकै रुटमा चल्छन् । अझ अरनिको राजमार्ग भई काभ्रेको धुलिखेल, बनेपा र पनौतीका करिब पाँच सय गाडीसमेत चल्छन् । यी तीन रुटमा चल्ने गाडीसँग भक्तपुरका गाडीहरुले प्रतिस्पर्धा गर्न सकेका छैनन् । त्यसमाथि साझा थपिएपछि आफूहरु थप मारमा पर्ने देखेर भक्तपुरका यातायात व्यवसायीहरुले साझालाई भक्तपुर छिर्न नदिने निष्कर्षमा पुगेका हुन् ।

बिहीबार बसेको बैठकमा भक्तपुरको सबैभन्दा पुरानो बस समिति भक्तपुर मिनिबस सेवा समिति भने सहभागी भएको थियो ।

समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले साझा भक्तपुर आउनुभन्दा नआएकै राम्रो हुने बताउँछन् । उनले साझाले भक्तपुरमा आफ्नो बस सञ्चालन गर्ने कुनै आधिकारिक जानकारी दिनुका साथै गाडी चल्ने एकिन नगरेकाले समितिले कुनै प्रक्रिया अघि नबढाएको जानकारी दिए ।

‘साझाले कहिलेदेखि बस सेवा सञ्चालन गर्ने हो त्यसबारे आधिकारिक जानकारी दिएको छैन’, उनले भने, ‘दसैंअघि देखि नै बस चलाउने भनेको तर अहिलेसम्म निश्चित भएको छैन । त्यसैले यसमा हामीले कुनै प्रक्रिया अघि बढाएका छैनौं । तर साझा आउँदा सबैभन्दा बढी मारमा हामी नै पर्ने हो ।’

उनले साझा ल्याएर समस्या बढाउने भन्दा भक्तपुरकै रहेका व्यवसायी र मजदुरहरुसँग समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

भक्तपुरका सर्वसाधारणले काठमाडौं र ललितपुरबाट ढिला भक्तपुर फर्कनुपर्दा गाडी नपाइने गुनासो गर्दै आएका छन् । त्यस्तै यहाँका बस सेवा छिटो छरितो नहुनुका साथै एक्सप्रेस भनिए पनि लोकलजस्तै भएको गुनासो भक्तपुरका यात्रुहरुले आरोप लगाउँदै आएका छन् ।

त्यस्तै भक्तपुरबाट ग्रामीण क्षेत्रमा जाने गाडी पनि ढिलो गरी नचल्ने हुँदा धेरै सास्ती खेप्नुपर्दै आएको यात्रुहरु बताउँछन् ।

, ,

0 comments

Write Down Your Responses