जथाभाबी बोल्न थाले पछी विचार पु-याएर बोल्न केपी ओलीलाई माधव नेपालको सुझाव !
काठमाडौं –नेकपा एमाले नेता माधवकुमार नेपालले मधेशवादी दलहरु तथा संविधान संशोधनका सम्बन्धमा अभिव्यक्ति दिँदा विचार पुर्याउन पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
प्रेस चौतारीको मधेश मामिला विभागले सोमबार काठमाडौमा गरेको कार्यक्रममा एमाले नेता नेपालले अभिव्यक्तिका कारण परिस्थिति भड्किने भन्दै बोली र व्यवहारमा संयमता अपनाउन पार्टी अध्यक्ष ओलीसँग आग्रह गरे ।
उनले मधेशवादी दलहरुले असन्तुष्टि जनाए पनि मधेशी जनता संविधानसँग सन्तुष्ट रहेको दाबी गर्दै त्यसो भन्दैमा मधेशवादी दलहरुमाथि जथाभावी टिप्पणी गर्न नहुने बताए ।
नेपालले मधेसवादी दलका कार्यकर्ताले दुईपटक आफ्नो घर जलाएको भन्दै चित्त दुःखाए । ‘म मधेस जान पाएको छैन, कालोझण्डा ठीक पारिहाल्छन्,’ नेपालले भने ।
नेपालले केही मधेसवादी दल र मधेसको नाममा प्रोजेक्ट चलाउने केही बुद्धिजिवीले गलत ढंगले मधेसमा सामुदायिक बिद्वेष फैलाउन खोजेको आरोप समेत लगाए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधानप्रति असन्तुष्टि जनाएका मधेशवादी र आदिवासी जनजाति सम्बद्ध दलसँग वार्ता गरेर सहमतिमा पुग्नु नै मुलुकको अहिलेको आवश्यकता भएको बताए ।
माओवादी केन्द्रका नेता श्रेष्ठले मधेशवादी दलहरुसँग सहमति कायम नगरे संविधानले व्यवस्था गरेका स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन हुन नसक्ने भन्दै सहमतिका लागि सबै दलले लचकता प्रदर्शन गर्नुपर्ने बताए ।
श्रेष्ठले केही दलले मधेसको समस्यालाई त्यहाँका सत्ता स्वार्थका लागि प्रयोग गरेको बताउँदै लचकताका साथ एकताबद्ध भएर मधेसको मुद्दालाई सम्बोधन गर्नुपर्ने र अडानबाट एक कदम पछि हटेर अघि बढ्नुपर्ने बताए ।

0 comments
Write Down Your Responses