प्रहरी महानिरीक्षक (आईजीपी) पद हुत्याउन यसरी हुँदैछ चलखेल !
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व छान्ने समय आउनै लाग्दा अहिले संगठन भित्र मात्रै नभई देशमै ठूलो चर्चा चलेको छ ।
जब प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्नुपर्ने बेला आउँछ तब अनेकन खेलहरु सुरु हुन थाल्दछ । अहिले यही अस्वस्थ खेलहरु भईरहेका छन् । फागुन पहिलो साताभित्र नयाँ आईजीपी बन्ने लगभग निश्चित छ । नयाँ आईजीपी बन्ने समय आउनै लाग्दा राजनीतिक र बाह्य सोर्स फोर्स लगाएर आईजीपी बन्ने दाउमा केही व्यक्ति लागिपरेका छन् ।
आफ्ना प्रतिस्पर्धीहरुलाई सिध्याउने खेल यतिखेर कतै नभएर प्रहरी संगठन भित्र चलिरहेको छ । अहिले प्रहरी महानिरीक्षक पदका लागि मुख्य तीन जना व्यक्तिहरु यो खेलमा लागिरहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख रहेका डिआईजी नवराज सिलवाल, लागु औषध नियन्त्रण ब्युरोमा रहेका डिआईजी जयबहादुर चन्द र ट्राफिक व्यवस्थापन महाशाखामा रहेका प्रकाश अर्याल नै भावी आईजीपीका लागि प्रतिस्पर्धी व्यक्तिहरु हुन् ।
यी तीन जना उम्मेदवारहरु बीच नै एकले अर्कोलाई सिध्याउने खेलमा लागिरहेका छन् । विगतमा सिलवाल, चन्द र अर्यालले गरेका गल्तीलाई बाहिर ल्याउन यी तीनैजना व्यक्तिहरुका निकटहरुले पत्रकारहरुलाई प्रयोग गरी खेल सुरु गरेका छन् । यिनीहरुको हनुमान झैं बनेर केही पत्रकारहरु आ आफ्ना समर्थक डिआईजीलाई जसरी हुन्छ आईजीपी बनाउनु पर्ने भनेर लागिपरेका छन् ।
केही पत्रकारहरुले त आ आफ्ना समर्थकलाई आईजीपी बनाउन नेताहरु कहाँ समेत लबिङ गर्दै हिंडिरहेका छन् । तीव्र प्रतिस्पर्धामा रहेका सिलवाल र चन्दको पक्षमा मिडियाबाजीहरु भईरहेका छन् । सामाजिक सञ्जालमा समेत सबभन्दा बढी सिलवाल र चन्दकै विषयमा विभिन्न टिका टिप्पणीहरु लेखिने गर्दछ । डिआईजी सिलवाललाई नै सबभन्दा बढी पत्रकारहरुलाई प्रयोग गरी आफ्ना विरोधीहरुको समाचार लेख्न लगाउने गरेको आरोप लाग्ने गरेको छ ।
कामले भन्दा पनि हल्ला खल्ला र मिडियाको प्रचारका कारण आईजीपी बन्ने दाउमा यी तीन जनै डिआईजीहरु लागेका छन् । मिडियामा बढी प्रचार गर्न रुचाउने डिआईजी भनेर सिलवाललाई चिनिन्छ । सिलवाल र चन्दलाई एक आपसमा लडाएर बद्नाम गराई सुटुक्क आईजीपी बन्ने दाउमा छन् अर्का डिआईजी प्रकाश अर्याल । ट्राफिक महाशाखा प्रमुख रहेका अर्याल अहिलेका आईजीपी उपेन्द्रकान्त अर्यालका नातेदार हुन् । आईजीपी अर्यालले प्रकाश अर्याललाई नै भावी आईजीपी बनाउने लबिङ गरिरहेका छन् । डिआईजी अर्याल सुन तस्करी काण्डमा सुराकी बनेर कमिशन खाने व्यक्ति हुन् । उनी विरुद्ध अख्तियारमा उजुरी समेत परेको छ ।
चार महिना देखि नै फेसबुकमा लडाईं
तीव्र प्रतिस्पर्धामा रहेका सिलवाल र चन्दबीच करिब चार महिनाअघि देखि नै उनीहरुका समर्थकहरुले फेसबुकबाट युद्ध छेडेका थिए । फेसबुकबाट नै आरोप प्रत्यारोप चलाईएको थियो । प्रहरी प्रमुख बन्न खुलेयाम रुपमा संगठनभित्रका एक अर्कालाई हिलो छ्याप्ने काम वरिष्ठ प्रहरी अधिकारीहरुबाटै हुँदै आईरहेको छ । सिलवाल र चन्दबीच नै बढी फेसबुकमा वार पर्ने गरेको देखिन्छ । उनीहरुलाई केही पत्रकारहरुले समेत साथ दिने गरेका छन् ।
तीनै डिआईजी अब्बल तर आरोपित
हाल केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीमा रहेका सिलवाल आफ्नो काममा निपुर्ण मानिन्छन् । काममा अब्बल र सरल अधिकृतको रुपमा चिनिएका सिलवालले पछिल्लो समय एयरपोर्टबाट सुन तस्करी प्रकरणमा मान्छे पक्राउ गर्न सफल भएपनि तस्करका मुख्य मालिकहरुलाई अझै समात्न सकेका छैनन् । तस्करका मुख्य नाईकेहरु को हुन् भन्ने कुरा सिलवाललाई राम्रैसँग थाहा छ तर उनले समात्न सकेका छैनन् । वन्यजन्तु र मानव तस्करी धन्दा, एटीएम ठगी, कल बाईपास र नक्कली शैक्षिक प्रमाणपत्र बोकेर चिकित्सक पेशा गरिरहेका व्यक्तिहरुलाई समात्न सिलवालले नेतृत्व गरेका थिए । उनले गरेका यी कामहरु निकै प्रशंसनीय छ । उनीमाथि अर्कोपनि गम्भीर आरोप छ ।
एसपी हुँदादेखि नै मिटर ब्याजमा पैसा लगाई अकुत पैसा कमाउने गरेको उनीमाथि आरोप छ । मिटर ब्याजमा पैसा लगाई चर्को रकम असुल्ने गरेको आरोप उनलाई लगाईने गरिन्छ । गुनबहादुर थापा भन्ने एक व्यक्तिले डिआईजी सिलवालले अत्यधिक ब्याज लिने गरी मिटर ब्याजमा ऋण दिएको र पछि आफूले घर जग्गा गुमाउनु परेको भनी पत्रकार सम्मेलन गरेका थिए । तर यस विषयमा सिलवाल भने आफूलाई फसाउन खोजेको बताउँछन् ।
सिलवाल जस्तै चन्द पनि काममा निपूर्ण मानिन्छन् । लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत चन्दले पछिल्लो समय देशका विभिन्न भागमा रहेका लागु औषध कारोबारीहरुलाई नियन्त्रणमा लिई कारबाही अघि बढाउन सफल भएका छन् । लागु औषध नियन्त्रणमा उनको भूमिका उल्लेखनीय नै छ । नयाँ नयाँ कार्यक्रम ल्याउने र जोखिम मोल्न सक्ने प्रहरी अधिकृतको रुपमा उनलाई चिनिन्छ । लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत रहँदा देखि नै उनले लागु औषधको क्षेत्रमा धेरै राम्रा कामहरु गरिरहेका छन् । तर केही समयअघि उनलाई आफ्नै घरमा जुवा खेलाउने गरेको भनेर आरोप लगाउने गरिएको थियो । जुवा खेलाउने केही व्यापारीहरुसँग उनको साँठगाँठ रहेको भन्ने आरोप उनीमाथि लाग्ने गरेको छ ।
आईजीपी बन्न चन्दले दिल्लीमा गएर केही नेताहरुसँग भेट गरेको भन्ने समाचार समेत बाहिर आएको छ । सुदूरपश्चिममा रहेका कांग्रेसी नेताहरुसँग छलफल गरी उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई मनाउन जोडतोडले लागिपरेको उनमाथि आरोप छ ।
यता सिलवाल भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नजिकका मान्छेहरु सँग हिमचिम बढाईरहेका छन् । अर्का डिआईजी प्रकाश अर्याल ३५ किलो सुन तस्करी प्रकरणमा परेर बद्नाम भएका व्यक्ति हुन् । उनी ३५ किलो सुन पक्राउ गरेबापत पाईने कमिशन दुरुपयोगमा मुछिएका थिए । त्यसैले उनको त्यति चर्चा छैन । यी तीन जना डिआईजीहरु मध्ये चौथो नम्बरमा रहेका बमबहादुर भण्डारी पनि आईजीपीका दाबेदार हुन् तर उनी यो रेशमा खुलेर लागेका छैनन् ।
अहिले काम भन्दा पनि राजनीतिक सोर्स फोर्सकै आधारमा आईजीपी बन्ने खेल सुरु भएको छ । एसएसपी रमेश खरेलले आईजीपी बन्न ठूलै ब्रिफकेश बोक्नुपर्छ भन्ने अभिव्यक्ति यसअघि दिएका थिए । एसएसपी खरेलले भने जस्तै अहिले आईजीपीका लागि पैसाको पनि ठूलै बार्गेनिङ भईरहेको सुन्नमा आएको छ । कार्य क्षमता भन्दा पनि पैसा र सोर्स फोर्सले नै आईजीपी नियुक्त हुने सम्भावना बढ्दै गएको छ ।

0 comments
Write Down Your Responses