तेरिया मगरले ताकिन् बलिउडः भन्छिन्, ‘सोनाक्षी सिन्हासँग काम गर्ने सपना छ’ !
डान्स इन्डिया डान्स लिल मास्टर्सको उपाधि हात पारेकी नेपाली चेली तेरिया मगरले भर्खरै अर्को उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएकी छिन् । झलक दिखलाजाको नवौं संस्करणकी बिजेता तेरियाले बलिउड ताकेकी छिन् । उनले बलिउड नायिका सोनाक्षी सिन्हासँग स्क्रिन साट्ने सपना भएको बताएकी छिन् ।
शनिबार राती झलक दिखलाजाकी बिजेता बनेकी तेरियाले ‘ट्रफी’ सँगै ३० लाख भारु पनि नगद पुरस्कारस्वरुप पाएकी छिन् ।
‘यसपछि म के गर्छु भन्ने मलाई थाहा छैन । तर म बलिउडमा जोडिन चाहन्छु । टिभीमा बलिउड हेरेर नै म हुर्किएकी हुँ । यदि मैले अवसर पाएँ भने म पक्कै पनि प्रयास गर्नेछु, ’ तेरियाले भनिन् ।
बलिउडमा उनको प्रेरणा को हो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘सोनाक्षी सिन्हाको अनुहारको भावले मलाई निकै प्रेरणा दिन्छ । उहाँ एकदमै राम्री हुनुहुन्छ । म उहाँसँगै काम गर्न चाहन्छु, ’ उनी थप्छिन् ।
अहिलेका लागि भने उनले आफ्नो सम्पूर्ण ध्यान परीक्षामा केन्द्रित गर्ने बताएकी छिन् ।
तेरियाको झलक दिखलाजाको यात्रा निकै रोचक रह्यो । उनले कार्यक्रममा पुर्नआगमन गरेकी हुन् । केही भागपछि उनी कार्यक्रमबाट बाहिरिएकी थिइन् । वाइल्ड कार्ड इन्ट्रीबाट कार्यक्रममा पुनः प्रवेश गरी उपाधि उनले आफ्नो पक्षमा पार्न सफल भइन् । कार्यक्रमको निर्णायक मण्डलमा रहेका करन जोहर, ज्याकलिन फर्नान्डेज, फराह खान र गणेश हेजले उनको हप्तैपिच्छे माझिएको प्रस्तुतीमा तालीमाथि ताली बर्साए ।
आफूले झलकको ‘ट्रफी’ जितेकोमा अहिलेसम्म पनि विश्वास गर्न नसकेको उनी बताउँछिन् ।
‘मैले यो त सोचेकै थिइनँ किनभने म सलमान र सान्तनुसँग प्रतिस्पर्धा गरिरहेको थिएँ । उहाँहरु निकै उत्कृष्ट डान्सर र मभन्दा धेरै अनुभव हुनुहुन्छ । उहाँहरुसँग प्रतिस्पर्धा गर्नु नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि थियो । जित नै हाँसिल गर्नु गौरवशाली पल थियो,’ कार्यक्रमको सबैभन्दा कान्छी बिजेता बनेकी तेरियाले भनिन् ।
आफूले जितेको रकममध्ये केही रकम आफ्नो संस्था– तेरिया फाउन्डेसनमा दान दिने उनले बताएकी छिन् । उनको संस्थाले बाललबालिकालाई सहयोग गर्दछ ।
‘अरु पैसा के गर्ने त्यसबारे आमा–बुवाले निर्णय गुर्नहुन्छ,’ उनले भनिन् ।


0 comments
Write Down Your Responses