अचम्मको खबर: मृत सम्झेर नदीमा बगाइएकी महिला ४० वर्षपछि घर फिर्ता !


यो घटना कुनै फिल्मको जस्तो लाग्छ । सुरुमा सुन्दा अपत्यारिलो भएपनि यो घटना पूर्ण रुपमा वास्तविक हो । भारतको कानपूरबाट ४० किलोमिटर टाढा इनायत मझावनपुर गाउँका लागि विलासा देवी मरिसकेकी थिइन् । गाउँका मानिसहरुले नै उनलाई ४० वर्ष पहिले गंगामा बगाइदिएका थिए ।

स्थानीयले विलासा देवीको मृत्यु भइसकेको भन्ने सोचेर उनलाई गंगामा बगाइदिएका थिए । ४० वर्षपछि जब विलासा गत डिसेम्बर २३ तारिख शुक्रबारका दिन आफ्नो जन्मस्थल आइपुगिन् र आफ्नो परिचय दिइन् तब मानिसहरु निकै अचम्मित भए ।

४० वर्ष पहिले विलासालाई सर्पले डसेको थियो । सर्पले डसेर अचेत भएकी उनलाई स्थानीयले मरिसकेको सम्झेर गंगामा बगाइदिए । गंगामा बगाइएकी महिला ४० वर्षपछि फर्केर आएपछि त्यहाँका स्थानीय चकित परेका छन् ।

अचम्मित गरिदिने यो घटना ४० वर्षसम्म कानपुरमा गोप्य रह्यो । तर गत शुक्रबार बेलुका यसमा यस्तो नाटकीय मोड आयो कि यो सबैको चर्चाको विषय बन्यो । गाउँका मातादीनले ४० वर्ष पुरानो घटनालाई याद गर्दै यसको पुष्टि गर्छन् । मातादीनका अनुसार विलासालाई तब कानपुरको सिद्धनाथ घाटमा मृत मानेर बगाइएको थियो ।

विलास मूल रुपमा कानपुरको पतारा गाउँकी हुन् । उनको पहिलो विवाह बिधुनका चरैया गाउँमा छिद्दुसँग भएको थियो । छिद्दुसँग सम्बन्धमा तितोपन छाउन थालेपछि विलासाले नजिकैको इनायतपुर  मझावन गाउँका कल्लूसँग विवाह गरेकी थिइन् ।

यसै गाउँमा उनलाई सर्पले टोकेको थियो र मानिसहरुले मृत सम्झेर उनलाई बगाइदिएका थिए । यहाँको इलाकाको पुरानो परम्पराका अनुसार जसलाई सर्पले टोकेको छ वा टीबीजस्ता बिरामीको मृत्यु भयो भने उनीहरुलाई जलाउनुको साटो गंगामा बगाइन्छ ।

विलासा देवीका अनुसार केही स्थानीयले उनलाई इलाहाबादमा गंगाबाट निकालेका थिए । उनी तीन वर्षसम्म इलाहाबादमा गंगाको किनारामा रहेको एक मन्दिरमा बसिन् । त्यसै मन्दिरबाट विलासालाई कन्नोजका राम सरनले आफूसँगै लिएर गए ।

केही वर्ष पहिले विलासाको भेट सन्नो नामका एक महिलासँग भयो । सन्नो कानपुरकी थिइन् । जब यी दुईको कुराकानी भयो तब उनको मस्तिष्कमा पुराना याद ताजा भएको उनले बताइन् ।

सन्नोले विलासालाई उनको पहिलो विवाहबाट जन्मिएकी छोरी राम कुमारीको बारेमा बताइन् । उनले राम कुमारीलाई पनि यो कुरा बताइन् । सुरुमा राम कुमारीले उनको कुरामा विश्वास गरिनन् ।

राम कुमारीले विलास देवीलाई कन्नौजबाट इनायतपुर मझावन ल्याइन् । गाउँ पुगेपछि उनले भनिन्, ‘अब मलाई धेरै कुरा याद आइसकेको छ । मेरो पुरानो घर, मेरो परिवार, मेरा बच्चा । अब म यहाँ नै बस्छु ।’

,

0 comments

Write Down Your Responses