भूकम्पपीडित भन्छन् : दसैँ त आयो तर सरकार आएन किन ?
काठमाडौं – काठमाडौंको साँखु बसपार्कबाट ५ मिनेट सालिनदी रोडमा हिँड्दै गर्दा बाटोको छेउमा एउटा धारोसँगै जस्तापाटाको सानो टहरो भेटिन्छ । टहरोमा साँखुका स्थानीय कृष्णगोपाल बाद्यकार उनकी श्रीमती र ४ बर्षका छोरा बस्छन् ।
३५ बर्षका कृष्णगोपालले बाहिरी संसार देख्न छोडेको ११ बर्ष भएछ । २४ बर्षको उमेरमा जलबिन्दु भन्ने रोगका कारण उनको दृष्टी गुमेको थियो ।
दसैँ उनको टहराको दैलोसम्म आइपुगेको छ तर उनको परिवारलाई दसैँको रौनकले खासै छुन सकेको छैन् । कारण आर्थिक अभाव नै हो । घर चलाउन कमाई गर्ने भनेको उनको श्रीमतीले मात्र हुन् ।
श्रीमतीले स्वेटर बनाउने तथा कपडा सिलाउने काम गर्छिन् । स्वेटर बुन्न सिपालु भएपनि कपडा सिलाउने काम भने पूर्ण रुपमा उनले जानेकी छैनन् ।
टहरो आफ्नै जग्गामा बनेको हुँदा कोठाभाडा तिर्नुनपर्ने भएपनि श्रीमतीको कमाईले बिहान बेलुकाको दुईछाक जुटाउन नै धौ धौ पर्ने गरेको कृष्णगोपालले सुनाए । अन्न उत्पादन हुने जग्गाजमिन पनि नभएका कारण उनी दृष्टिबिहिनले गर्न सक्ने कामको तालिम लिएर आत्मनिर्भर बन्न चाहन्छन् ।
नगरपालिकाले हरेक बर्ष लक्षित समुदायका लागि भनेर तालिमका लागि बजेट छुट्याउने पनि गर्छ, उनले त्यसबारे नगरपालिकामा पनि बुझ्ने गरेका छन् तर नगरपालिकाले उनीजस्तै दृष्ट्रिबिहिन र अपाङ्गता भएकाहरुका लागि तालिम संचालन गर्दैन् ।
उनका छोरा ४ बर्षको भए । साँखुमा रहेको संगम बोर्डिङ स्कूलले आधा शुल्क लिएर उनका छोरालाई नर्सरीमा पढाइरहेको छ, तर त्यही आधा शुल्क तिर्न पनि उनलाई निकै गाह्रो परेको छ ।
हुनेखानेको परिवारमा राम्रो लगाउने, मिठो खाने भएपनि आर्थिक अभावका कारण भूकम्पप्रभावित दृष्ट्रिबिहिन कृष्णगोपालको परिवारको दसैँ भने अघिपछिको दैनिकी जस्तै चल्नेछ ।
कृष्णगोपालको घरबाट अलि परको टहरामा ५५ वर्षीय लक्ष्मीदेवी शाहीको परिवार बस्छ । १ नाति, २ नातिनी, १ छोरी र २ जना छोराबुहारी सँगै बस्ने लक्ष्मीदेवीलाई ३ तलाको घर भत्केपछि यसपालीको दसैँको पनि खासै उल्लास लागेको छैन ।
भूकम्प आउनुअघि काँचो इटाले बनाएको ३ तलाको घर थियो । उनले भनिन् “घर बनेको घर नै हुने, कहाँको जस्तापाताले बेरेको सानो टहरो ।” उनका छोरा आफै पनि घर बनाउने काममा जान्छन् तर आफ्नै घर बनाउन भने चाहेजति पैसा छैन् ।
पहिले पहिलेका दसैँंमा खसी, राँगा काट्ने गरेपनि यसपाली पूजा गर्न कुखुरा काट्ने उनले बताईन् । आफन्त र परिवारका लागि बजारबाट मासु किनेर ल्याउने उनको परिवारको योजना छ ।
टहरो सानो भएपनि लक्ष्मीदेवी शाहीको परिवारको लहरो भने ठूलो छ । दसैँमा उनका छोरा बुहारी र नातिनातिना गरेर १७ जना अहिले बसेको टहरोमा भेला हुन्छन् । घर बनाउनका लागि सरकारले दिने भनेको राहत अनुदान कुर्दा यसपालीको दसैँ पनि टहरोमा बित्ने भएको हो ।
भूकम्पपछिको दोश्रो दशंै पनि भूकम्पप्रभावितले यसी अस्थायी टहरामा मनाँउदैछन् ।
साँखुकै अर्की भूकम्प प्रभावित नानीछोरी बाद्यकारले भने दसैँका लागि आधा रोपनीमा फलेको धान चुटेर टहरोमा भित्राएकी छिन् । उनको पाँच जनाको परिवार पनि साँखु बजारको छेउमा जस्ताको टहरोमा जिवन गुजारीरहेको छ ।
टहराको एउटा कुनामा कपडाले बारेर जमराकोठा बनाएकी छिन् नानीछोरीले । दसैँमा आफन्तहरु आँउछन् तर बस्नका लागि समस्या छ ।
पाँच जनाको परिवार एउटा टहरो कोठमा मुस्किले बसेका छन् । आफन्तहरु आँउदा राती बस्नका लागि ठूलो समस्या रहेको उनले सुनाइन् ।
उनका श्रीमान गाडि चलाँउछन् । सरकारले घर बनाउन पैसा दिन्छ रे भन्ने सुनेकी उनले पैसा दिए छिट्टै घर बनाउन सुरु गर्ने बताइन् ।
भूकम्पपछी अस्थायी टहरामा कष्टकर जिवन गुजारीरहेका काठमाडौँ साँखुका कृष्णगोपाल बाध्यकार, लक्ष्मीदेवी शाही र नानीछोरी बाद्यकार प्रतिनिधी पात्र मात्र हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ १९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै अतिप्रभावित १४ जिल्लाका सबै परिवारलाई घर बनाउनका लागि पहिलो किस्तावापतको ५० हजार रकम दिन निर्देशन दिएका थिए ।
तर काठमाडौका ३ जिल्लाका भूकम्प प्रभावितले भने दसैँ पछाडिमात्र घर बनाउन अनुदान पाउने छन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले काठमाडौ उपत्यकाको लगत संकलन सम्पन्न गरेपनि दसैँपछि मात्र घर निमार्णका लागि अनुदान बितरण गर्ने भएको छ ।
भूकम्पबाट काठमाडौका पूराना तथा कच्ची निमार्ण सामाग्रीबाट निमार्ण भएका अधिकांश घरमा क्षति पुगेको थियो । भूकम्पबाट तहसनहस भएको क्षेत्रमध्ये एक हो काठमाडौंको उत्तरपूर्वी क्षेत्रको प्राचिन शहर साँखु । भूकम्पबाट १ सय भन्दा धेरैले ज्यान गुमाएको साँखु बजारबाट अझै पूर्णरुपमा घरका भग्नावशेष हटेको छैन् ।
भूकम्पपछि घरबास गुमाएका झन्डै ६ लाख परिवार यसरी नै अस्थायी टहरामा कष्टप्रद रुपमा जिवन गुजारीरहेका छन् ।

0 comments
Write Down Your Responses