काठमाडौँ प्रहरी प्रमुख टिकट काउन्टरमै पुगेर यात्रु ठग्ने १६ बिरुद्ध मुद्दा, ६ सय यात्रुको भाडा यसरी फिर्ता गराए !
काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम थापा बुधवार बिहानै कोटेश्वर, बल्खु र कलंकीमा रहेको यातायात काउन्टरमा पुगे । अचानक काउन्टरमा छड्के जाँच गर्न पुगेका थापाले टिकट काट्ने कर्मचारीलाई सरकारले तोेकेको भन्दा एक रुपैयाँ पनि बढी भाडा लिएको पाइए कारवाही गर्ने चेतावनी दिँदै भने, ‘दशैं–तिहारको नाममा थप रकम असुली गर्नेको दशैं हिरासतमा बित्छ !’
यसअघि नयाँ बसपार्क, चावहिल र गौशालामा रहेको टिकट काउन्टरमा पुगेर यात्रुले टिकट पाए नपाएकोबारे निरीक्षण गरेका थापाले चाडबाडको बेला टिकटमा हुने ठगी नियन्त्रणका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले भने, ‘टिकटमा हुने ठगी नियन्त्रण गर्न विशेष योजना बनाएर लागी परेका छौं ।’
अघिल्ला बर्षहरुमा यातायात सञ्चालकले टिकट लुकाएर ‘सकियो’ भन्दै बढी मुल्यमा बेच्ने गरेको गुनासो आउने गरेको थियो ।
यात्रु ठग्ने १६ बिरुद्ध मुद्दा, ६ सय यात्रुको भाडा फिर्ता
महानगरीय प्रहरी परिसर काठमाडौंले बढी मुल्यमा टिकट बेचेर ठगी गरेको अभियोगमा १६ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । त्यस्तै टिकट विक्री खुलेदेखी हालसम्म ६ सय यात्रुसँग लिइएको बढी भाडा फिर्ता गरिएको एसएसपी थापाले जानकारी दिए । बुधवार महानगरीय प्रहरी वृत गौशालाले ९ ओटा गाडीबाट ६१ जनाको टिकट फिर्ता गराएको छ । त्यस्तै महाराजगञ्ज प्रहरी वृतबाट खटिएको टोलिले ४५ जना, नयाँ बानेश्वर क्षेत्रबाट खटिएको प्रहरीले १७ जना तथा कालिमाटी प्रहरीले धरान–धनकुटा चल्ने बसेले २४ जना यात्रुसँग लिएको तोकिएभन्दा बढी भाडा रकम फिर्ता गराईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


0 comments
Write Down Your Responses