आइएसको सहयोगीको आरोपमा मलेसियाबाट एक नेपाली पक्राउ गरि डिपोर्ट

आश्विन ६, २०७३- अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)लाई सहयोग गरेको आरोपमा मलेसियामा रहेका एक नेपाली नागरिक पक्राउ परेका छन् । होटल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गरी देश निकाला गरेको मलेसियाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले समाचार सम्प्रेषण गरेका छन् ।

पक्राउ परी डिपोर्ट गरिएको भनिएका नेपाली नागरिकको नाम खुलाइएको छैन । उनीसहित बंगलादेशी र मोरोक्कन नागरिक पक्राउ परेको त्यहाँको प्रहरी प्रमुख तानश्री खालिद अबु बकारले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । यी मध्ये नेपाली र बंगलादेशीलाई डिपोर्ट गरिएको छ भने मोरोक्कनलाई भने हिरासतमै राखिएको छ ।

नाम नखुलाइएको ३८ वर्षीय नेपाली नागरिकलाई त्यहाँको प्रतिआतंकवादी युनिटले अगस्ट १९ मा पक्राउ गरी अनुसन्धान पश्चात सेप्टेम्बर २ मा देश निकाला गरिएको प्रहरी प्रमुख खालिदले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

‘नेपाली तथा बंगलादेशी व्यक्तिले मलेसियामा होटल व्यवसाय संचालन गरेर बसेका थिए,’ प्रहरी प्रमुख खालिदलाई उद्धृत गर्दै ढाका ट्रिब्युनडटकमले जनाएको छ, ‘नेपालीले आतंकवादीहरुलाई सहयोग पुग्ने गरी नक्कली कागजपत्र बनाएको सुरक्षा निकायको अनुसन्धानमा खुलेको हो भने ३७ वर्षीय बंगलादेशी नागरिक हतियार ओसारपसारमा संलग्न देखिएको छ ।’

यस्तै २६ वर्षीय मोरोक्कन नागरिक भने फलाम वेल्डरको रुपमा मलेसियामा कार्यरत रहेको र उनको ‘देइस’ उग्रवादी समूहमा आवद्ध रहेको देखिएको बताइएको  ।

पक्राउ परेपछि डिपोर्ट गरिएका सबैजनाको आतंकवादी संगठन देइसका मोहम्मद वान्डी मोहम्मद जेदीसँग साँठगाँठ रहेको देखिएको समाचारमा उल्लेख छ ।

प्रहरी प्रमुखले जारी गरेको विज्ञप्तीका उनीहरुलाई त्यहाँको अध्यागमन कानुनको १९५९/६३ प्रावधान अनुसार पक्राउ गरी देश निकाला गरिएको र मोरोक्कन नागरिकलाई भने हिरासतमै राखिएको बताइएको छ । खालिदलाई उद्धृत गर्दै पक्राउ परेका नेपालीलाई २० दिन अगाडि नेपाल डिपोर्ट गरेको उल्लेख गरिए पनि नेपालको अध्यागमन र सुरक्षा अधिकारीले अनविज्ञता जनाए ।

‘आतंकवादसँग जोडेर कुनै नेपालीलाई मलेसियाबाट डिपोर्ट गरेको विषयमा जानकारी आएको छैन,’ प्रहरी प्रवक्ता माधव जोशीले भने । 

, ,

0 comments

Write Down Your Responses