मलेसियामा बेहोश भएर ढलेका चन्द्रलाई चर्चित प्रहरी अफिसर सर्वेन्द्र खनालले यसरी उद्दार गर्यो


तीन भाइ छोरा र श्रीमतीलाई बौद्धको डेरामा छाडेर चर्को घाममा हात–पाखुरा खियाउने जोखिम उठाउँदै बाराका चन्द्रलाल थिङ दुई वर्षअघि मलेसिया विमानस्थल ओर्लिए । २०७१ जेठमा जब उनले मलेसियाको तातो सडकमा पाइला राखे, त्यसयता लगातार शरीरबाट पानीजस्तै पसिनामात्र चुहिएन, बिसन्चो एकाएक बढ्न थाल्यो ।

‘डेढ वर्ष पूरा हुँदानहुँदै निकै कमजोर भएँ, जनवरीदेखि बान्ता हुन थाल्यो,’ गत साता रातोपाटी कार्यालयमा आइपुगेका चन्द्रलालले आफ्नो पीडाको थैली खोल्दै भने, ‘टाउको दुख्ने समस्या बढ्दै थियो, एक दिन अचानक बेहोश भएर ढल्न पुगेछु ।’ पाँचौं दिनमा होश खुल्दा उनी मलेसियाको कुनै अस्पतालमा थिए ।

मलेसियाको ‘पेन्टेक स्टिल इन्डष्ट्रिज’का मेनेजर आफ्नो कामदार बेहोश भएर ढल्दा पनि ‘तिमीलाई कस्तो छ’ भनेर सोध्नसम्म आएनन् । त्यस्तो निर्दयी मुलुकमा नबस्ने निधो गर्दै त्यसयता चन्द्रलाल पटक–पटक कम्पनीलाई गुहार्न थाले, ‘मलाई नेपाल पठाइदिनुस् ।’ तर, कम्पनीमालिकले सुन्दै सुनेनन् ।

‘खुट्टामा घाउ निस्केको थियो, त्यहाँ पुगेको वर्ष दिनपछि ओभरटाइम बन्द गरिएको थियो,’ उनले भने, ‘जम्मा ११ सय रिंगेटको लोभले बाक्सामा प्याक नहुने निर्णय गरेर मैले काठमाडौंमा एसएसपी सर्वेन्द्र खनाललाई फोन गरें ।’
‘जनावरीदेखि लगातार बान्ता भइरहेको छ, टाउकोको दुखाइ रोकिएको छैन, कम्पनीले मेरो उपचारमा कुनै चासो दिएन ।’ चन्द्रको यस्तो बिलौना सुनेपछि महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले सोधे, ‘अब के गर्ने त, मेनपावर सञ्चालकलाई पक्रेर थुन्ने ?’ चन्द्रले जवाफ फर्काए, ‘होइन सर, म नेपाल फर्कन चाहन्छु ।’

खनालको पटक–पटकको प्रयासपछि चन्द्र नेपाल फर्कन सफल भए । गएको मंसिरदेखि पेट दुख्ने समस्याबाट थलिएका उनी पुस पहिलो साता सिकिस्त बिरामी परे । ‘पराईको देशमा हात–खुट्टाको नशा चल्न छाडेर थला परेपछि साथीहरुमार्फत उपचारका लागि कम्पनीमा पटक–पटक आग्रह गर्दा एक दिन पनि कसैले फर्केर हेरेनन्,’ चन्द्रले मन अमिलो बनाउँदै भने, ‘बेहोश भएर ढलेको केही दिनपछि सकी नसकी कम्पनी पुगेर उपचारको आग्रह गर्दा ग्यास्ट्रिकको इन्जेक्सनका लागि स्लिप लेखेर पठाएँ ।’

काठमाडौंको चप्पल कारखानानजिकै कार्यालय भएको आरआर ग्रुप नामक मेनपावरमार्फत चन्द्र मलेसिया पुगेका थिए । एसएसपी खनालसँग बिलौना गरेको भोलिपल्ट उनलाई आरआर ग्रुपबाट फोन आयो । त्यसअघि पटक–पटक चन्द्रले मलेसियाबाट फोन गर्दा मेनपावरले वास्ता गरेको थिएन । ‘चन्द्रलाई उद्धार गरेर नेपाल ल्याउन निकै कठिन भयो, त्यहाँको कम्पनी र यता मेनपावर सबै राम्रै छ किन फिर्ता पठाउने भन्थे,’ एसएसपी खनाल भन्छन्, ‘उताबाट चन्द्रले बारम्बार फोन गरेर आफू निकै बिरामी भएको तर कम्पनीले नेपाल जान नदिएको भन्दै टेलिफोन गरिरहन्थे ।’

खनालसँग कुरा भएपछि चन्द्रलाई ‘पेन्टेक स्टिल इन्डष्ट्रिज’ का मेनेजरले आफिसमा बोलाएर हप्काउँदै भने, ‘नेपालमा किन कम्प्लेन गरेको ?’ चन्द्र केही बोलेनन्, सुनिमात्रै रहे । ‘त्यसपछि मेरो पासपोर्ट साइजको फोटो खिचेका थिए,’ उनी भन्छन्, ‘त्यही फोटो नेपाल पठाएर सबै ओके छ, भनेछन् ।’

भोलिपल्ट आरआर ग्रुपका मोहन तामाङले टेलिफोन गरेर उल्टै चन्द्रलाई हप्काउँदै भने, ‘त्यहाँबाट कम्पनीले तिम्रो स्वास्थ्य राम्रो भएको रिपोर्ट पठाएको छ, यता प्रहरीमा किन कम्प्लेन गरेको ?’ त्यसपछि पटक–पटक उनले टेलिफोनमा यस्तै धम्की बेहोर्नुपर्यो ।

एम्बेसीका कर्मचारी कमाउधन्धामा

आफ्नो स्वास्थ्य बिग्रेपछि चन्द्र पहिलोपटक मलेसियास्थित नेपाली दूतावास पुगे । ‘त्यहाँ नेपाली छन् भन्ने आशा लिएर गएको थिएँ तर त्यस्तो पाउन सकिनँ,’ उनले भने, ‘एम्बेसीका मान्छेले कम्पनीलाई उपचारको आग्रह गरिदिन मात्र सक्ने अरु केही गर्न नसक्ने कुरा सुनाए ।’

आफूले नेपाल जान चाहेको कुरा गरेपछि एम्बेसीका कर्मचारीले ट्राभल डकुमेन्ट बनाएर नेपाल जान सकिने तर त्यसका लागि १५ सय रिंगेट लाग्ने बताए । मलेसियाको १५ सय नेपाली रूपैयाँ करिब ४४ हजार पर्न आउँथ्यो । चन्द्रसँग त्यति पैसा तिर्न सक्ने हैसियत थिएन ।

‘त्यहाँ एम्बेसीका स्टाफ कमाउन र आफ्नो स्वार्थ पूरा गर्नमात्रै गएकोजस्तो लाग्यो,’ चन्द्र भन्छन्, ‘एम्बेसी गएको थाहा पाएपछि कम्पनीले मलाई वास्तै गर्न छाड्यो ।’

एम्बेसीमा एकजना दलाल भेटिएको प्रसंग सुनाउँदै चन्द्रले भने, ‘दलालले बिरामी मान्छे किन विदेश आइस् भनेर उल्टो एम्बेसीपरिसरमै हप्कायो ।’

यसरी दूतावासबाट काम नभएपछि उनले एसएसपी खनालसँग हार–गुहार गरेका थिए । ‘सर्वेन्द्र सरसँग कुरा भएर एम्बेसीमा पुग्दा पनि कर्मचारीको व्यवहारमा खास परिवर्तन आएको पाइनँ,’ उनी भन्छन्, ‘दोस्रोपटक जाँदा ट्राभल डकुमेन्टका लागि २२ सय रिंगेट चाहिन्छ भन्न थाले ।’

भारतीय र बंगाली एजेन्टमार्फत उनको भिसा लागेको रहेछ, त्यसैले उनीहरुबीचको कमिसनको कुरा नमिल्दासम्म चन्द्रको नेपाल आउने बाटोमा काँडेतार लगाइयो । त्यस्तोमा सर्वेन्द्र खनाल बेला–बेला फोन गरेर सोध्थे, ‘तिम्रो के हुँदै छ ?’

खनालले बारम्बार मेनपावर कम्पनी र मलेसियास्थित नेपाली दूतावासलाई प्रेसर गर्न थालेपछि एक दिन कम्पनीले चन्द्रलाई एक्स–रे गर्न पठायो । एक्स–रे गरेर फर्केपछि कम्पनी मेनेजरले भने, ‘तैंले गर्दा मेरा चालीसजना मान्छे नेपालमा रोकिएका छन् । तिनीहरु रोकिँदा लागेको खर्च तैंले बेहोर्नुपर्छ, उनीहरु आउन पाएनन् भने तँलाई पठाउँदिनँ ।’

महानगरीय अपराध महाशाखाको टोली आरआर ग्रुपको कार्यालय पुगेर चन्द्रलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया अगाडि नबढाए प्रहरीले कारबाही गर्ने चेतावनी दिएपछि बल्ल मेनपावरले टिकटको पैसा पठाउन राजी भयो । त्यसपछि चन्द्रलाई मेनपावरको रिसेप्सनमा बस्ने किशोरीले फोन गरेर भनिन्, ‘तपाईंलाई नेपाल फर्कने टिकटको पैसा पठाउँदै छौं ?’ चन्द्र निकै खुसी भए ।

टिकटको पैसा पुग्यो तर टिकट चन्द्रको हातमा दिन कम्पनीले अर्को एक महिना झुलायो । ‘नेपालमा रोकिएका चालीसजना उता नपुगुन्जेल मलाई टिकट दिएनन्,’ उनी भन्छन्, ‘सर्वेन्द्र सर फोनमा सोध्नुहुन्थ्यो ‘अझै भएन ?’

चालीसजना कामदार मलेसियाको विमानस्थलमा इन्ट्री भएपछि बल्ल चन्द्रले नेपाल फर्कने टिकट पाए । ‘टिकटका लागि यताबाट मेनपावरले ३३ हजार नेपाली रूपैयाँ पठाएको रहेछ, कम्पनीले मसँग ६०० रिंगेट लिए,’ चन्द्रले गहभरि आँसु पार्दै भने, ‘ऋण खोजेर दिएको छु, अझै तिर्न सकेको छैन ।’ यसरी उनी दुई महिनाअघि त्रिभुवन विमानस्थल ओर्र्लिए । ‘अहिले बौद्धमा परिवारसँगै छु,’ उनी भन्छन्, ‘अब फेरि विदेश जान्न होला ।’

नेपाल फर्केपछि भनेअनुसारको काम नपाएको भन्दै आरआर ग्रुपमा पैसा फिर्ता लिन पुगे । ‘अहिलेसम्म पाएको छैन,’ उनले भने, ‘पैसा फिर्ता गर्न सक्दैनौं भनेका छन् ।’ मेनपावरलाई डेढ लाख बुझाउँदा ८० हजारको स्लिप !

कान्तिपुर दैनिकमा छापिएको विज्ञापन हेरेर आरआर ग्रुपमा पुगेका चन्द्रलाल थिङले त्यहाँकी मीरा लिम्बू मेनपावर सञ्चालककी बहिनीलाई पासपोर्ट बुझाएँ । ‘मैले मलेसियाको भिसा लागेपछि एक लाख ५० हजार बुझाएँ,’ उनी भन्छन्, ‘तर, मेनपावरले मलाई ८० हजारमात्रै बुझाएको प्रमाणित हुने स्लिप दिएको छ ।’

त्यसपछि उनले सोधे, ‘किन ८० हजारको मात्रै स्लिप दिएको ?’ रुखो बोल्ने मेनपावरका कर्मचारीले सरकारी नियमअनुसार गरेको भन्दै उनलाई टेढो आँखा लगाए । त्यसपछि चन्द्रले ‘त्यसो भए मेरो अरु पैसा फिर्ता चाहियो’ भन्ने अडान लिए । ‘यसरी डेढ लाखको स्लिप माग्दा मलाई टिकट र पासपोर्ट हातमा दिएनन्,’ उनले भने, ‘मेरो ग्रुपका सातजना एयरपोर्ट पुगेपछि केही गरी प्लेन छुटेमा हामी जिम्मेवार छैनौं भन्दै मेनपावरका कर्मचारीले तर्साए ।’

मेनपावरले मागेको डेढ लाखमध्ये चन्द्रले दस हजार दिन सकेनन् । ‘दस हजार नपुग्दा धेरै झुलाए,’ उनी भन्छन्, ‘पछि दस हजारको कागज गरेपछि बल्ल श्रम कक्षमा लागेर स्ट्याम्प हानिदिए ।’

दुःखीलाई दुःखमाथि दुःख

साउदी अरबमा डेढ वर्ष प्लास्टिक कम्पनीमा काम गरेर फर्केका चन्द्र परिवारको खर्च धान्न फेरि मलेसिया हानिएका थिए । मेनपावरले ‘धाराको टुटी बनाउने कम्पनी हो, खासै गाह्रो काम गर्नुपर्दैन’ भनेपछि उनी मलेसिया जान राजी भएका थिए । तर मलेसिया पुगेपछिका चार दिन उनले एयरपोर्टमै बिताए । कम्पनीका मान्छे चार दिनसम्म लिन नआएपछि त्यसरी बेवारिसे भएको कहानी सुनाउँदै चन्द्रले भने, ‘धाराको टुटी बनाउने कम्पनी भनेको झुट कुरा रहेछ, पेन्टेक स्टिल इन्डष्ट्रीजमा ४० इन्चको ठूला पाइप बन्ने रहेछ । जुन ग्यास सिलिन्डर र पेट्रोलियम पदार्थ ढुवानीका लागि प्रयोग हुन्छ ।’

मेनपावरले १७ सय ३३ रिंगेट पाउँछौ भने पनि उनले त्योभन्दा निकै थोरै तलब पाए । विभिन्न बहानामा कम्पनी मालिकले तलब काटिरहे । मलेसिया पुगेको महिना दिनमा बुवा बितेको खबर पाएका चन्द्रले छुट्टी पाएनन् । ‘बुवाको निधनको पीडा खपेर काम गर्दै थिएँ, त्यसको १० दिनपछि एलर्जी भयो,’ गहभरि आँसु पारेर उनले भने, ‘कार्बनको कारण एलर्जी भएको रहेछ, उपचार गर्न भनेर कम्पनीले ३५० रिंगेट दिएको थियो तर त्यसले पुग्थेन ।’

यसरी दुःखलाई अँगाल्दै उनले मलेसिया छाडे । जसको पुल बने महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल ।

, ,

0 comments

Write Down Your Responses