महन्थ ठाकुरको छोरीको आखामा खुर्सानीको धुलो छरेर ब्रिफकेस लुट्ने लुटेरा यसरी पक्राउ !
काठमाडौं– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको छोरी डा. मिनाक्षी ठाकुर (झा)माथि सांघातिक हमला गर्दै घरमा चोरी गरेर भाग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही पिडाडी घर भई हाल पेप्सीकोला बस्दै आएका रन्जित प्रसाद गुप्ता र महोत्तरी मेघनाथ घर भई पेप्सीकोलामै बस्ने प्रचण्ड प्रताप श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार उपत्यकाको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
गत २४ गते साँझ भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा पसेर उनीहरुले मिनाक्षीको आँखामा खुर्सानीको धूलो छर्किँदै खुकुरीले आक्रमण गरी ठाकुरको ब्रिफकेस लुटेर भागेका थिए ।
ब्रिफकेस लुट्नेमध्येका रन्जित प्रसाद गुप्ताले आफ्नो पहिचान नखुलोस भनेर डा मिनाक्षीलाई खुर्सानीको धुलो छर्किएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ भएका दुवै जनाले योजनावद्द तवरबाट जवरजस्ती चोरी गर्दै आएको तथा ठाकुरको निवासमा पनि चोरी गरेर रकम वाँडफाँड गरी खाने योजना वनाएको समेत अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी वृत्त, सानोठिमी भक्तपुर पठाईएको पठाइएको महाशाखाले जनाएको छ ।
महन्थको चोरी भएको ब्रिफकेसभित्र केहि नगद र महत्वपूर्ण कागजपत्र रहेको बताइएको छ । घटना हुँदा ठाकुर भने प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा छलफलरत थिए ।

0 comments
Write Down Your Responses